Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति !

२०७८ कार्तिक १६
tribeni2
  •      गोपालसिं खड्का

रुकुम पश्चिम/ जिल्लाको एक सरकारी बिद्यालयलाई जिर्ण बन्दै गएका भवन, अपुग जनशक्तिको कारण शैक्षिक गुणस्तर जोगाउन चिन्ता बढ्दै गएको छ ।  शैक्षिक गतिविधि र गुणस्तरमा प्रभावकारी रहेको जिल्लाको सानीभेरी गाउँपालिका १० स्थित सरस्वती माध्यमिक विद्यालय चिन्तुमा रहेका भौतिक संरचनाहरु ज्यादै जिर्ण बन्दै गएका छन् ।

बिद्यार्थी संख्याको अनुपातमा पनि कक्षाकोठा अभाव रहेको छ भने शिक्षकहरुको समेत कमी रहेको छ । बालबिकास कक्षा देखि १० कक्षा सम्म सञ्चालित उक्त विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा समस्या बढ्दै गएको छ ।

'भवन मात्रै हैन कक्षामा बस्नलाई डेस्क बेञ्च पुग्दैनन्,' कक्षा १० मा अध्ययनरत बिद्यार्थी गोपाल बिकले भन्नुभयो 'पढाइ त राम्रो छ, तर भएका भवन जिर्ण बन्दैछन्, बिद्यार्थी अनुसार कक्षा कोठा र बस्ने डेस्क बेन्चको अभाव छ ।'

बिद्यालयमा करिब चार सय ५० जना विद्यार्थी रहेका छन् । पर्याप्त मात्रामा शिक्षक समेत नरहेको गुनासो रहेको छ । पठन पाठन नियमित र राम्रो नभएतापनि भौतिक संरचनाको अभाव रहेको छ ।

हाल बिद्यालयका एक ओटा २ कोठे पक्की भवन रहेको छ । तीन ओटा दुई/दुई कोठे कच्ची भवन छन् । जम्मा ८ कोठा भएतापनि कम्तीमा १२ कोठा आवश्यक रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खड्काले बताउनुभयो । कच्चि भवनको कोठा बारेर पढाउन बाध्य भएको समेत उहाँले जनाउँनुभयो ।

विद्यालयको गुणस्तर बढाउने बेलामा शिक्षकको अभाव रहेको विद्यालयका प्रधानाध्यापक यामबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार प्राविमा २ जना र माविमा १ जना शिक्षक थप भैदिएमा शैक्षिक जनशक्ति अहिलेलाई पर्याप्त हुने थियो । विद्यालय सहायक र प्रधानाध्यापकको काम पढाउने भन्दा पनि व्यवस्थापन र खटनपटनमा लाग्नुपर्ने भएकोले शिक्षक व्यवस्थापन र भौतिक संरचना निर्माणका लागि सम्बन्धित निकायको सहयोगको अपेक्षा रहेको प्रधानाध्यापक खड्काले उल्लेख गर्नुभयो ।

विद्यालयमा प्रावि तर्फ स्थायी ३ दरबन्दी, मावि संघीय अनुदान २, सानीभेरी गाउँपालिकाको मावि अनुदान १, निमावि सानीभेरी गाउँपालिका अनुदान ३, कम्प्युटर सहायक १, बालबिकास सहयोगी कार्यकर्ता १, विद्यालय सहायक १ र विद्यालय सहयोगी १ गरि जम्मा १३ जना शिक्षक कर्मचारी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्