Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
काँग्रेस अधिबेशन

काँग्रेसको जिल्ला सभापति सर्वसम्मत गर्न पालिका सभापतिहरुको गोप्य भेला

प्रेम प्रकाश ओलीलाई नै सभापतिमा दोहोर्‍याउने
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस यतिबेला १४ औ महाधिबेशनको देशव्यापी कार्यक्रममा सक्रिय छ । केन्द्रीय महाधिवेशनको संघारमा रुकुम पश्चिममा पनि सातौ महाधिवेशनको माहोल छ । जिल्ला बाहिर तथा सदरमुकाम बाहिर भएका बिभिन्न नेता कार्यकर्ताहरु यतिबेला सदरमुकाम केन्द्रित छन् ।

यतिबेला मुसिकोटमा काँग्रेसका गुट, उपगुटका छलफल भैरहेको पाईन्छ । खास गरेर अहिलेका जिल्ला सभापति प्रेम प्रकाश ओली र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर रोकाय बिचमा सभापति पदको दाबेदारी भएको पाईन्छ ।

मंसिर ६ गते तोकिएको जिल्ला अधिवेशनले नेता कार्यकर्तामा उत्साह छाएको केहि कार्यकर्ताहरुको प्रतिक्रिया रहेको छ । तर, वर्तमान सभापति प्रेम प्रकाश ओली नै पुनः सभापतिमा दोहोरिने प्रबल सम्भावना रहेको देखिन्छ । यद्यपी ओली र रोकाय पक्ष बिचमा सहमतिमै जिल्ला कार्यसमिति र प्रतिनिधिहरु छनौटको लागि पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह र पूर्व सभापति मानबहादुर नेपालीले सहजिकरण गरिरहनुभएको बुझिएको छ ।

यसैबिच मूलपाटीलाई प्राप्त श्रोतका अनुसार रुकुम पश्चिमका ६ ओटै पालिकाका सभापतिहरुले ओलीलाई पुनः सभापति बनाउन सहमति हुनुपर्ने भन्दै भेला गरेका छन् । गत कार्तिक २८ गते मुसिकोटमा पालिका सभापतिहरुको एक भेलाले प्रेम प्रकाश ओलीलाई फेरि पनि सभापतिको रुपमा सर्वसम्मत गराउन निर्णय गरेको श्रोतले जनाएको छ । केहि अग्रज जिल्ला नेताहरुको उपस्थितिमा भएको उक्त गोप्य भेलाले ओलीको पक्षमा माहौल बनाउन र जिल्ला अधिवेशन सहमतिमै बनाउन निर्णय गरेको हो ।

भेलामा मुसिकोट नगरपालिकाका पार्टी सभापति प्रेम बहादुर ओली, आठबिसकोट नगर सभापति अमृत बोहरा, चौरजहारी नगर सभापति प्रेमबहादुर ओली, सानीभेरीका सन्तोष रोका, त्रिवेणीका दिपेन्द्र ओली र बाँफिकोटका सभापति जनक कुमार बाँठाको उपस्थिति रहेको थियो ।

जिल्लाका ६ वटै पालिकामा निर्वाचित भएका पालिका सभापतिहरु मध्य मुसिकोटका प्रेमबहादुर ओली बाहेक सबै जिल्ला सभापति प्रेम प्रकाश ओली निकट मानिन्छन् ।केन्द्रमा ओली रामचन्द्र पौडेल निकटका मानिन्छन् भने रोकाय शेरबहादुर देउवा निकट मानिन्छन् ।

२८ गते भएको गोप्य भेलाले ६ गतेको जिल्ला अधिबेशनको लागि बिभिन्न बिषयमा छलफल गरेको बताईएको छ । आ आफ्ना पालिकाबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्न सक्ने कार्यकर्ताहरुको विवरण, महाधिवेशन तथा प्रदेश प्रतिनिधिहरुको छनौटका बिषयमा छलफल भएको बताईएता पनि सार्वजनिक गरिएको छैन ।


यस्ताको अन्य पदाधिकारीको कुरा

जिल्ला सभापति पदमा प्रेम प्रकाश ओली पुनः दोहोेरिने गरी सहमति भएमा नेता कृष्णबहादुर रोकाय प्रदेश पदाधिकारी जाने र सहमति नभएमा दुबै बिचमा निर्वाचन हुने देखिएको छ । चुनाव भएमा दुई पक्ष बिचमा कडा प्रतिश्पर्धा हुनेछ । 

प्रेम प्रकाश ओलीको पक्षबाट जिल्ला उपसभापतिमा भिमबहादुुर डाँगी र सुरतजंग मल्लको आकांक्षा देखिएको छ भने कृष्णबहादुर रोकायको पक्षबाट हर्कसिं खत्री र कर्णबहादुर डाँगीको तिब्र आकांक्षा रहेको छ ।

त्यसैगरी सचिव पदका लागि ओली पक्षबाट तारक शाही, गोरखबहादुर खत्री र नरेन्द्र केसीको चर्चा छ भने रोकाय पक्षबाट महेन्द्र केसी र परमेश्वर भण्डारीको चर्चा रहेको छ । कोषाध्यक्ष पदमा भने मनोनित गर्ने प्रावधान रहेको छ । हालका कोषाध्यक्ष मोहबिर खड्का दुबै पक्षको सहमतिमा पुनः कोषाध्यक्षमा दोहोरिने प्रबल सम्भावना रहेको छ ।

काँग्रेसमा महत्वपूर्ण मानिने महाधिबेशन प्रतिनिधिको लागि पनि प्रतिश्पर्धा हुने देखिन्छ । एक नेताका अनुसार २५ जना महाधिवेशन प्रतिनिधिको लागि पनि सहमतिको कोशिस गरिएको छ । यसका साथै प्रदेश क र ख बाट गरेर ३४ जना प्रदेश प्रतिनिधि समेत यस पटक चयन हुनेछन् ।

हाल रुकुम पश्चिममा ७३ ओटै वडाबाट छनौट भएर आएका १ हजार २ सय ४४ क्षेत्रिय प्रतिनिधि रहेको काँग्रेसले जनाएको छ । क्षेत्रिय प्रतिनिधिहरुले नै जिल्ला अधिवेशनमा भाग लिने प्रावधान रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्