Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा एचआईभी पीडित परिवारलाई सहयोग

tribeni2

रुकुम पश्चिम / आफ्नो जन्मदिनको अवसरमा रुकुम पश्चिमका एक पत्रकारले एचआईभी पीडित परिवारलाई सहयोग प्रदान गर्नुभएको छ । रेडियो यूनिक एफएमका स्टेशन म्यानेजर भुवन केसीले मुुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कष्टकर जीवनयापन गर्दै आउनुभएकी लक्ष्मी सुनारको परिवारलाई सहयोग गर्नुभएको हो ।

७० वर्षिय लक्ष्मी सुनारका छोरा सुरेश र बुहारी कालीकुमारी दुवैजना एचआईभी संक्रमित हुनुहुन्छ । मूलपाटी डटकमले उहाँको परिवारको अवस्थाबारे समाचार प्रकाशन गरेपछि कष्टकर जीवनयापन गरिरहेको उक्त परिवारलाई जन्मदिनको अवसर पारेर सहयोग उपलब्ध गराएको पत्रकार केसीले बताउनुभयो ।

जन्मदिनलाई फजुल खर्च गरेर क्याफे, रेष्टुरेन्टमा मनाउनुभन्दा अभावमा दिन व्यतित गरिरहेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु उत्तम ठानेर आफुले सहयोग गरेको उहाँले बताउनुभयो । जन्मदिनको खर्चले उक्त परिवारलाई सहयोग गर्न पाउँदा गर्वको अनूभूति भएको पत्रकार केसीले उल्लेख गर्नुभयो ।

सहयोग प्रदान कार्यक्रममा मुसिकोट नगरपालिका ६ का वडा अध्यक्ष भानु मल्लले पत्रकार केसीले पुण्यको काम गरेको बताउनुभयो । उहाँले आफ्नो जन्मदिनको मौकामा कठिनाईपूर्वक बाँचिरहेका परिवारलाई यसरी सहयोग गर्नु उदाहरणीय काम भएको वडा अध्यक्ष मल्लले उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जन्मदिनको अवसरमा मानवीय कार्य गरेको बताउनुभयो । उहाँले गाउँ, टोलका सर्वसाधारणहरुको दैनिकी उजागर गर्नुका साथै उनीहरुको समस्या बुझेर पत्रकारले नमूना काम गर्ने गरेको उल्लेख गर्नुभयो । पत्रकार केसीले आफ्नो जन्मदिनमा तडकभडक र भड्किलो खर्च नगरेर पीडामा बाँचेका परिवारलाई साँझ बिहानको छाक जुटाउन सहयोग गर्नु उत्कृष्ट काम भएको समेत अध्यक्ष केसीले जनाउनुभयो ।

पीडित परिवारलाई दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, नुन, तेल, बेसार, पिठो, बिस्तरा, सिरक हस्तान्तरण गरिएको हो । मुसिकोट नगरकार्यपालिका सदस्य निर्मला रसाईलिले उक्त सहयोगले पीडित परिवारमा खुशि छाएको जनाउनुभयो । उहाँले महान र उदाहरणिय कार्य गरेको भन्दै अरुलाई पनि उक्त कार्यले प्रेरणा दिने विश्वास रहेको बताउनुभयो ।

सानो झुपडिमा तीन जनाको परिवारले कष्टकर जीवन बिताईरहेको अवस्था बारेको समाचार तलको लिंकमा पढ्न सकिन्छ ।

एचआईभी संक्रमितसँग 'न खाने आहारा, न कोई सहारा'

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्