चौरजहारी १४ मा रहेको शिव गुफामा तीन दिने शिवरात्री मेला लाग्दै

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १४ को लिउरेबारी दयालेखमा रहेको शिव गुफामा शिवरात्रीको अवसरमा यस वर्ष पनि मेला लाग्ने भएको छ ।

आगामी फागुन ४ गतेदेखि ६ गते सम्म दयालेख शिव गुफामा मेला लगाउने गरेर तयारी सुरु गरिएको स्थानीय पहल ओलीले जानकारी दिनुभयो । मेला व्यवस्थापनको लागि स्थानीय गणेश केसीको संयोजकत्वमा मेला व्यवस्थापन समिति बनाईएको समितिका सदस्य समेत रहनुभएका ओलीले बताउनुभयो ।

परम्परागत रुपमा हरेक वर्ष लाग्दै आएको मेलालाई थप भव्य र सभ्य बनाउन स्थानीयवासीहरुको भेलाले १३ सदस्यीय मेला व्यवस्थापन समिति बनाएको हो ।

स्थानीयका अनुसार करिब १० मिटर गहिराईमा रहेको गुफा भित्र विभिन्न प्रकारका शिवका मुर्तिहरु कुँदिएको आकारमा रहेका छन् । उक्त स्थानमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्दै आएको छ ।


गुफाको बिच भागमा मुर्ति रहेको छ । दायाँ साईडबाट छिरेर पुजा गर्ने र बाँया साईडबाट निस्कने गरिन्छ । एउटै साईडबाट आउने जाने गर्दा नराम्रो हुने विश्वास स्थानीयमा रहेको छ ।

बिधिबाचा पुरा नगरेपछि भोक खान्छ भन्ने पौराणिक विश्वासको कारण शिवरात्रीको अवसरमा पुजापाठ सहितको मेला लाग्ने गर्दछ । सुरुसुरुमा यसलाई चमेरे दुलो भन्ने गरिएतापनि भित्र हेर्दै जाँदा शिवको मूर्ति आकारका मूर्तिहरु कुँदिएको देखिएपछि यसको महत्व बढेको बताईन्छ ।

गुफा भित्र बिभिन्न ढुंगाका चित्रहरु, शिव भगवानको जस्तो मुर्ति, गाईका थुन, कुकुर जस्तो ढुंगाको मुर्ति रहेका छन् ।

यो पनि पढ्नुहोस् .....

लिउरेवारीमा रहेको शिवगुफा भित्र थरिथरीका मुर्ति

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्