यस्ता छन् जाजरकोटको शैक्षिक सुधारका लागि गरिएका २१ प्रतिबद्धता

२०८० वैशाख १३

जाजरकोट/जाजरकोटमा शैक्षिक गुणस्तर सुधारका लागि २१ बुँदे प्रतिबद्धता गरिएको छ । सदरमुकाम खलंगामा मंगलबार सम्पन्न विज्ञहरुसँग शिक्षक भेटघाट कार्यक्रमको अन्त्यमा यस्तो प्रतिबद्धता गरिएको हो ।

शिक्षकहरुलाई वर्तमान अवस्थाका शैक्षणिक सीपसंग परिचित गराई अध्यावधिक गर्न, प्रभावकारी शिक्षण सिकाईका उपायहरुको खोजी गरि शैक्षिक उपलब्धी सुधार गर्न र बिद्यालयमा विद्यार्थीको निरन्तरताका उपायहरुको खोजी गर्न आयोजना गरिएको शिक्षकसंग बिज्ञ भेटघाट कार्यक्रममा शैक्षिक सुधारका लागि २१ प्रतिबद्धता गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्वारा आयोजित उक्त कार्यक्रममा जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका र भेरी नगरपालिकाका माध्यमिक विद्यालयका प्रधानाध्यापक र माध्यमिक तहका शिक्षकहरुको सहभागीता रहेको थियो । विज्ञ भेटघाट कार्यक्रममा भेरी नगरपालिका, कुशे गाउँपालिका र शिवालय गाउँपालिकाका १६ वटा माध्यामिक बिद्यालयका प्रधानाध्यापक र शिक्षक गरि ४५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको विज्ञको रुपमा नेपाल सरकारका पूर्व उपसचिव (शिक्षा)का जित बहादुर शाह, मध्य पश्चिमाञ्चल बिश्व बिद्यालयका असिस्टेन्ट प्रोफेसर यदु प्रसाद ज्ञवाली र सेभ द चिल्ड्रेनका टेक्निकल म्यानेजर आत्मराम भट्टराईले सहजिकरण गर्नुभएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक केशव बि.सी.ले बताउनुभयो । उहाँका अनुसार दुई दिने विज्ञ भेटघाट कार्यक्रमका अनुभव, विचार, अन्तर्दृष्टी र सहमतिका आधारमा २१ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

सहभागीहरुले प्रतिबद्धाताहरु विद्यालयको शैक्षिक गुणस्तर र पहुँचमा सुधार गर्नका लागि कार्यान्वयन गर्न सहमति जनाएका छन् । Expert Meet खलङ्गा, जाजरकोटबाट जारी गरिएका प्रतिबद्धताहरु यहाँ उल्लेख गरिएको छ ।

तपशिल

  1. विद्यालय बाहिर रहेका सबै बालबालिका पहिचान गरी विद्यालय भर्ना गर्ने, विद्यालयमा निरन्तरता गराउने र सिकाइमा कमजोर कार्यसम्पादन भएका बालबालिकाको पहिचान गरी सुधारात्मक शिक्षण गर्ने ।

  2. आफ्ना विद्यार्थी र विद्यालयका समग्र सरोकारवालाहरुसँग सकारात्मक सोचका साथ मुस्कुराउदै प्रस्तुत हुने क्षमताको विकास गरी सोको कार्यान्वयन गर्ने ।

  3. विद्यालयमा अध्यनयरत हरेक विद्यार्थीहरुका सक्षमताहरुको पहिचान गरेर सुची अद्यावधिक गरी उक्त सक्षमताहरुको आधारमा विद्यार्थीहरुलाई सहजीकरण गर्दै उनीहरूलाई अघि बढ्नका लागि उत्प्रेरित गर्ने ।

  4. बालबालिकाका निम्ति आफ्नो विद्यालय र कक्षाकोठालाई हरेक दृष्टिले सकारात्मक र सुरक्षित भएको सुनिश्चित गर्ने ।

  5. हरेक विद्यार्थीका गतिविधिहरूलाई नजिकबाट निरन्तर रुपमा अवलोकन गरी आवश्यक परामर्श र मार्गनिर्देशन प्रदान गर्नका लागि कुन विद्यार्थीका लागि कुन शिक्षक भन्ने कुरा स्पष्ट रुपमा किटान गरी ‘शिक्षक–विद्यार्थी अन्तरसम्बन्ध विस्तार कार्यक्रम’ सञ्चालन गर्ने ।

  6. विद्यार्थीहरुलाई कुनै किसिमको सजाय नदिइ बालमनोविज्ञान तथा उनीहरूको वौद्धिकता अनुसारको बालमैत्री शिक्षण सिकाइका माध्यमबाट सहजीकरण गर्ने ।

  7. हरेक प्रधानाध्यापकले आफ्नो क्षमता अभिवृद्धि गर्दै प्रभावकारी विद्यालय नेतृत्व र व्यवस्थापन सीप विद्यालयमा कार्यान्वयन गर्ने ।

  8. विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्नका लागि अभिभावकसँगको भेटघाट, अन्तरक्रिया र सहकार्यलाई निरन्तर र जीवन्त रुपमा अघि बढाउने ।

  9. विद्यालयका हरेक शिक्षकले आइसीटी सम्बन्धी कम्तिमा पनि आधारभूत सिप र दक्षताको विकास गरी सो अनुसार शिक्षण सिकाइमा सहजीकरण गर्न विद्यार्थीहरुसँग सहकार्य गर्ने ।

  10. अनलाईन वा अफलाइन माध्यमबाट सिकाइ समूह वा सञ्जालमा जोडिइ एकअर्काबिच सिकाइ आदानप्रदान गर्ने संस्कारको विकास गर्ने ।

  11. शिक्षण सिकाइलाई वर्तमान अवस्थामा जोड्नको लागि शिक्षण सिकाईका नयाँ आयामलाई आत्मसात गरी लागु गर्ने ।

  12. शिक्षण सिकाइको क्रममा योजना, कार्यान्वयन र आत्मपरावर्तन (Self–reflection) लाई लागू गर्ने ।

  13. हामी शिक्षकको पेशागत विकासको लागि परिस्थिति अनुकुलको प्रविधिलाई आफूले शिक्षण सिकाइ गर्ने कक्षा र क्रियाकलापहरुसँग जोड्ने ।

  14. पेशागत विकास एवं वर्तमान परिस्थिति अनुरुप विषयबस्तुको ज्ञान, शिक्षण विधिको ज्ञान र प्रविधिको ज्ञानलाइ समायोजन गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।

  15. हरेक दिन विद्यार्थी भन्दा पहिले शिक्षक गेटभित्र प्रवेश गरेर विद्यार्थीहरूलाई गेटबाट स्वागत गर्दै विद्यालयमा प्रवेश गर्ने गराउने अवस्थाको सुनिश्चित गर्ने ।

  16. विद्यालयमा सबै विद्यार्थीहरूलाई नामबाटै स–सम्मान सम्बोधन गर्ने कार्यको आरम्भ गर्ने गराउने ।

  17. विद्यालयले बिहानीपख विद्यालय खुल्ने समयमा विद्यालय परिसरमा बालमनोविज्ञान एवम् देशभक्तिका भावनाले भरिएका गीतहरू बजाएर साँगितिक वातावरणको सिर्जना गर्ने ।

  18. आफ्नो विद्यालयलाई धुमपान, मध्यपान, लागू औषध र पत्रु खाना (Junk Food) मुक्त क्षेत्रको रुपमा घोषणा गरी सोको प्रभावकारी रुपले कार्यान्वयन गर्ने ।

  19. अभिभावक शिक्षक तथा विद्यार्थीको सहकार्यमा पठन संस्कृति विकास गर्न ‘टोल शिक्षा समिति’ गठन गरी पठनपाठन र अनुगमन लगायतका शैक्षिक गतिविधिलाई बढावा दिने ।

  20. अभिभावकको सहभागितामा गृह शिक्षक छनौट, पढाइ कुना, दैनिक कार्यतालिका र सामग्री सहित हरेक घरमा गृह बिद्यालय भएको सुनिश्चित गर्ने ।

  21. विद्यालयहरुले आयोजना गर्ने विविध साँस्कृतिक कार्यक्रमहरुमा बालमनोविज्ञान र देशभक्तिको भावनाले ओतप्रोत भएका गीत सङ्गीतहरु प्रयोग गर्ने कार्यलाई प्राथमिकता दिने ।

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुसँग विज्ञ भेटघाट कार्यक्रम

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्